काठमाडौं । माघ दोश्रो साता सूरु हुने विद्यालय स्तरीय यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को छैठौँ संस्करणमा बलियो पार्टनरका रुपमा बलियो नेपाल न्युट्रीसन इनिसियटिभले सहकार्य गर्ने भएको छ ।
सोमबार बलियो नेपालको सानेपा ललितपुरस्थित कार्यालयमा बलियो नेपालका प्रमुख कार्यकारी निर्देशक डा. अतुल उपाध्याय र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको बलियो पार्टनरको रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौताबाट नेपाली उमेर समुहको क्रिकेटको उत्थानमा थप टेवा पुग्ने बताउँदै अध्यक्ष शाहीले सहयोगले सुदूरमा विद्यालय स्तरका खेलाडीको खेल क्षमता बढ्ने र हौसला थपिने उल्लेख गरे ।
लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष शाहीले १९ बर्ष मुनिका क्रिकेट खेलाडीको खेल क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको छैटौं संस्करणको निरन्तरता दिइएको बताए ।
प्रतियोगितामा देशभरका १० विद्यालय टिमको सहभागिता रहने बताइएको छ ।
जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् ।
लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ भागमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् ।
प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए ।
आसन्न प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने आयोजकले बताएको छ ।