काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज सोमबार भारत र नामिवियाबीच खेल हुनेछ ।
सुपर १२ को समूह २ अन्तर्गत भारत र नामिवियाबीचको खेल दुबईमा राती ७ः४५ मा सुरु हुनेछ ।
सेमिफाइनलमा प्रवेश गर्न नसकेका यी दुईले जारी विश्वकपको अन्तिम खेल खेल्दैछ ।
प्रतियोगिताबाट बाहिरिसकेको भारत र नामिवियाबीचको खेल केवल औपचारिकतामा मात्र सिमित हुनेछ भने यी दुई टोलीका लागि आजको खेल प्रतिष्ठाको लडाइएको रुपमा रहनेछ ।
प्रतियोगितामा चार खेल खेलेको भारतले दुई खेलमा जित हात पार्दा दुई खेलमा पराजय भागेको छ ।
यता नामिवियाले चार मध्ये केवल एक खेलमा मात्र जित हात पार्न सकेको छ ।
भारतले पाकिस्तानसँग १० र न्यूजिल्यान्डसँग ८ विकेटको हार ब्योहोरेको थियो भने अफगानिस्तानलाई ६६ रन तथा स्कटल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो ।
अर्कोतर्फ नामिवियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेपनि अफगानिस्तानसँग ६२ रनले पराजित भएको थियो ।
नामिवियाले तेस्रो खेलमा पाकिस्तानसँग ४८ रन तथा न्यूजिल्यान्डसँग ५२ रनले पराजित भएको थियो ।
त्यसैले आजको खेलमा दुबै टोली जित हात पार्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।
जारी प्रतियोगिता अन्तर्गत समूह २ बाट पाकिस्तान र न्यूजिल्यान्ड तथा समूह १ बाट इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।