काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले स्कटल्यान्डमाथि ७२ रनको शानदार जित हात पारेको छ ।
स्कटल्यान्डमाथिको जितसँगै पाकिस्तानले सुपर १२ को समूह २ अन्तर्गत आफूले खेलेको पाँचवटै खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
पाकिस्तान समूह २ को विजेता बन्दा न्यूजिल्यान्ड उपविजेता टोलीको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह १ को विजेताको रुपमा इंग्ल्यान्ड र उपविजेताको रुपमा अष्ट्रेलिया अन्तिम चारमा प्रवेश गरिसकेको छ ।
अब सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलिया तथा न्यूजिल्यान्डले इंग्ल्यान्डको सामना गर्नेछ ।
आईतबारको खेलमा पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउने स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १ सय १७ रन जोड्न सक्यो ।
स्कटल्यान्डका लागि रिची वेरिङटनले सर्वाधिक ५४ रन जोडे ।
पाकिस्तानका शदाव खानले दुई विकेट लिए ।
शाहिन शाह अफ्रिदी, हरिस राउफ तथा हसन अलीले एक–एक विकेट हात पारे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर आजम तथा शोएब मलिकको अर्धशतकिय इनिङ्सको सहयोगमा चार विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो ।
आजमले ४७ बलमा ६६ रन जोड्दा पाँच चौका र तीन छक्का प्रहार गरेका थिए ।
मलिकले १८ बलमा ५४ रन जोडेका थिए । उनले एक चौका र छ छक्का हिर्काए ।
स्कटल्यान्डका क्रिस ग्रेभ्सले सर्वाधिक दुई तथा हम्जा ताहिर र सफ्यान सरिफले एक–एक विकेट हात पारे ।