काठमाडौं । वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले क्रिकेटबाट सन्यास नलिएको खुलासा गरेका छन् ।
तर उनले जमैकामा आफ्ना घरेलु समर्थकमाझ विदाई क्रिकेट खेल्ने अपेक्षा भने राखेका छन् ।
गेल टी–ट्वान्टी विश्वकपका क्रममा वेस्ट इन्डिज टिममा थिए ।
अष्ट्रेलियाविरुद्धको खेलका क्रममा अष्ट्रेलियाका खेलाडीहरुले ड्वायन ब्राभो र गेललाई 'गार्ड अफ अनर' दिएका थिए ।
ब्राभोले भने अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरिसकेका छन् ।
वेस्ट इन्डिजलाई दुई पटक टी–ट्वान्टी विश्वकप दिलाउन महत्वपूर्ण भूमिका खेलेका गेलले आईसीसीसँगको भिडियो कुराकानीका क्रममा सन्यास नलिएको बताउदै आफूले घरेलु समर्थकमाझ जमैकामा एक खेल खेल्न चाहेको जनाए ।
गेलले जारी टी–ट्वान्टी विश्वकप अन्तिम विश्वकप भएको स्वीकार गरे ।
तर ४२ वर्षीय गेलले कुराकानीकै क्रममा आफूले अर्को विश्वकप खेल्न चाहेपनि वेस्ट इन्डिजले आफूलाई टिममा नराख्ने भन्दै ठट्टा गर्न भ्याए ।
गेलले आफ्ना ९१ वर्षीय पिता विरामी भएपनि विश्वकप खेलेको समेत बताएका छन् ।