काठमाडौं । बागमती प्रदेश खेलकुद बिकास परिषद्ले आयोजना गरेको ब्याडमिन्टन खेलको दुई दिने राष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
परिषद्को बार्षिक कार्यक्रम अन्तर्गत रहेको रेफ्री तथा प्रशिक्षक तालीम कार्यक्रम अन्तर्गत नेपाल ब्याडमिन्टन संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट सहभागी रहेको थियो । सो मध्ये २६ जनाले प्रशिक्षण तालीम उत्तीर्ण गरेका छन् ।
ब्याडमिन्टन संघका मुख्य प्रशिक्षक सुदिप योन्जन, मेघराज कठायत र किरण थापाले प्रशिक्षण दिएका थिए ।
ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले सम्बोधन गरेका थिए ।
प्रशिक्षणमा सहभागी सबैलाई आ–आफ्नो जिल्लामा गएर स्थानीय तह र जिल्ला खेलकुद बिकास समितीसँग समन्वय गर्न भण्डारीले आग्रह गरे ।
उनले नियमित प्रशिक्षण संचालन गर्न आग्रह गर्दै उत्कृष्टहरु मध्येबाट प्रदेशले आगामी दिनमा आवश्यक पर्ने प्रशिक्षकको पदपूर्तिमा समेत प्राथमिकता दिन सकिने बताए ।