काठमाडौं । रुस्लान थ्रीस्टारका कप्तान बिक्रम लामाले ए डिभिजन लिग अन्तर्गत एनआईबीएल फ्रेन्ड्स क्लबविरुद्धको खेल नखेल्ने भएका छन् । चोटका कारण लामो समय मैदान बाहिर रहेका बिक्रमले लिगको पहिलो खेलमा फ्रेन्ड्सविरुद्ध नखेल्ने भएका हुन् ।
‘आफुलाई अझ बलियो बनाउन केही समय अभ्यासमा बिताउने निर्णय गरेको छु ।’ बिक्रमले भने । लिगको ठुलो म्याच नभएकाले जोखिन लिन नचाहेको उनले बताए ।
‘चोट पुर्ण रुपमा निको भएपनि मांसपेशीहरु पहिलेकै अवस्थामा ल्याउन समय लाग्छ । खेलमा बलियो रुपमा प्रस्तुत हुन केही समय अभ्यास गरौ भनेर पहिलो खेल नखेल्ने निर्णय लिएको छु ।’ बिक्रमले भने ।
बैङ्ककमा चोटको सफल परिक्षण सकाएर बिक्रम गत मंगलबारमात्र नेपाल फर्किएका थिए । बैङ्ककको परिक्षणमा उनको चोट पुर्ण रुपमा निको देखिएको थियो । चिकित्सकले बिक्रम पहिलेकै अवस्थामा खेल्न सक्ने बताएका थिए । बैङ्ककमा हुदाँ बिक्रमले पुर्नस्थापना केन्द्रमा विभिन्न अभ्यास समेत गरेका थिए ।
गत बर्षको अन्तिममा बुढासुब्बा गोल्डकपको फाईनल खेलमा उनले चोट बोकेका थिए । सोही कारण बिक्रम करिब ७ महिना मैदान बाहिर रहे । थ्रीस्टारले ए डिभिजन लिगको पहिलो खेलमा बिहिबार फ्रेन्ड्ससंग प्रतियोगिताको सुरुवात गर्दैछ । राष्ट्रिय फुटबल टिमका खेलाडी सहित मैदान उत्रने तयारी गरेको थ्रीस्टारले उपाधि जित्ने लक्ष्य बनाएको छ ।