काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधबार च्यासल युथ क्लब र मछिन्द्र क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पेनाल्टीमा गोल गर्न नसक्दा च्यासलले मछिन्द्रसंग अंक बाडेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा च्यासलले पेनाल्टी पाएको थियो ।
खेलको ७२ औं मिनेटमा बिमल घर्ति मगरलाई मछिन्द्रका डिफेन्सले लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो ।
तर, हेमन्त थापा मगरको प्रहार मछिन्द्रको गोलकिपर दिप कार्कीले बचाए । खेलमा मछिन्द्रका विकास राई म्यान अफ दि म्याच बने ।
यो बराबरीसंगै च्यासल र मछिन्द्रले १ - १ अंक जोडेका छन् ।
करिब ४ बर्षपछि भएको लिगको पहिलो चरण जारी रहदा संकटा ३ अंकसहित शीर्ष स्थानमा छ ।
संकटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो ।
यस्तै उद्घाटन खेलमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेलेका थिए । दुवैको एक एक अंक छ ।