काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राईकर बिमल घर्तिमगरले ए डिभिजन लिगमा डेब्यु गर्ने भएका छन् । ललितपुरे क्लब च्यासल युथ क्लबमा अनुबन्धित भएका बिमलले बुधबारको खेलसंगै लिगमा डेब्यु गर्ने तय भएको हो । च्यासल युथ क्लबले पल्सर सहित स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।
राष्ट्रिय फुटबल टिमका स्टार बिमलले कप्तानको जिम्मेवारी सहित शीर्ष डिभिजनको लिगमा डेब्यु गर्ने तय भएको हाे । ‘च्यासलबाट बिमलले आजको लिग खेल खेल्नेछन् ।’ क्लबका प्रशिक्षक राजुकाजी शाक्यले बताए ।
१४ बर्षको उमेर मैत्रिपुर्ण म्याचमार्फत राष्ट्रिय टिममा देखिएका उनले साफको डेब्यु खेलमा गोल समेत गरेका थिए । उनले राष्ट्रिय फुटबल टिमबाट ९ गोल समेत गरिसकेका छन् । साफमा च्याम्पियनसिपमा मात्र उनले ४ गोल गरेका छन् ।
बिमलले यसअघि २०७१ सालको राष्ट्रिय लिगमा सुदुरपश्चिमबाट खेलेका थिए । एन्फा एकेडेमीका उत्पादन विमलले घरेलु फुटबलमा पहिलो पटक ए डिभिजन लिगमा देखिन लागेका हुन् ।