काठमाडौं । चितवन टाइगर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा बुधबार भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन फाइनलमा पुगेको हो ।
चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो ।
पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेटको क्षतीमा पूरा गर्यो ।
चितवनको जितमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
यस्तै हसिम अन्सारीले अविजित १४ रन जोडे । करिम जनत ४ रनमा अविजित रहे ।
पोखराका नन्दन यादवले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो ।
पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए ।
लोकेश बम ५,सहन अर्चाचिगे ३, बिक्रम सोब ३, विवेक यादव २, असेला गुनारत्ने १ रनमा आउट भए ।
कप्तान विनोद भण्डारी र नन्दन यादव सुन्य रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे ।
पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले ४/४ विकेट लिए । सोमपाल कामी र करिम जनतले १/१ विकेट लिए ।
अब चितवनले फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
पोखराले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा पोखराले एलिमिनेटरको विजेतासँग खेल्नेछ ।
बुधबार नै हुने एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । यस खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।