काठमाडौं । काठमाडौं किङ्स-११ चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार भैरहवा ग्लाडीयटर्सविरुद्धको स्थगित खेलमा एक अंक पाएपछि काठमाडौं प्ले अफमा पुगेको हो ।
सोमबार परेको वर्षाले मैदान भिजेको कारण खेल स्थगित भएपछि काठमाडौं र भैरहवाले एक एक अंक बाडेको हो।
भैरहवा र काठमाडौंबीचको खेल टस समेत नभई स्थगित भएको हो ।
मैदानको आउटफिल्ड खेलका लागि योग्य नहुँदा अम्पायरले खेल स्थगित गरेको हो ।
भैरहवा र काठमाडौंबीचको खेल बिहान ९:३० बजे सुरु हुने तालिका थियो ।
काठमाडौं चौंथो स्थानमा रहदै प्ले अफमा पुगेको हो । काठमाडौंले ५ खेलमा ३ अंक जोड्यो ।
ललितपुर प्याट्रीयट्ससँग समान ३ अंक जोडेपनि काठमाडौं नेट रन रेटमा अघि रहेको हो ।
साविक विजेता ललितपुर भने लिग चरणबाटै बाहिरिएको छ ।
भैरहवा ७ अंक जोडेर तेस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको छ।
अब चितवन टाइगर्स र पोखरा राइनोजले पहिलो क्वालिफायर खेल खेल्नेछ ।
काठमाडौंले भैरहवासँग इलिमिनेटर खेल खेल्नेछ ।
पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ ।
पराजित हुने टिमले फाइनल प्रवेशका लागि पुन: इलिमिनेटरको विजेतासँग खेल्नेछ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।