काठमाडौं । काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता आगामी पुसमा आयोजना हुने भएको छ ।
आयोजक काठमाडौं ब्याडमिन्टन एकडेमीले सोमबार विज्ञप्ति निकाल्दै प्रतियोगिता पुस ६ देखि ९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा संचालन हुने जनाएको छ ।
यस अघि यस प्रतियोगिता जेठ २० देखि २२ सम्म हुने तालिका रहेको थियो ।
तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको थियो ।
आमन्त्रण प्रतियोगितामा १६ टिमको सहभगिता रहने आयोजकले जनाएको छ ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा मेन्स डबल्स, वुमेन्स डबल्स, कर्पोरेट डबल्स, मेन्स सिंगल्स, वुमेन्स सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने बताईएको छ ।
मेन्स र वुमेन्स डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पोरेट खेलाडी हुनु पर्ने नियम छ ।
कर्पोरेट डबल्समा कम्तिमा संस्थामा २ वर्ष काम गरेको हुनु पर्छ ।
मेन्स र वुमेन्स सिंगलमा शीर्ष १६ वरीयताका खेलाडीले खेल्न पाउने छन् । पाँच इभेन्ट्स मध्ये ३ इभेन्ट्स जित्ने टिमले खेल जित्नेछ ।
वरीयता प्राप्त खेलाडीको लागि विजेताले ५० हजार, उपविजेताले ३५ हजार र सेमिफाइनल खेल्नेले ३०/३० हजार पाउने छन् ।
टिम च्याम्पियनलाई आकर्षक ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजक कुमारी बैंक रहेको छ । आयोजकले मुख्य प्रायोजकको रुपमा बैंकसँग सम्झौता गरिसकेको छ ।