काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज आइतबार दुई खेलहरु हुँदैछन् ।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र विराटनगरबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जित निकाल्न चाहन्छ । प्रतियोगिताबाट बाहिरिसकेको विराटनगरले ४ खेलमा जित निकाल्न सकेको छैन ।
विराटनगर अन्तिम खेलमा सान्त्वना जित निकाल्न चाहन्छ ।
यस्तै दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र चितवनबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । ललितपुर चौंथो स्थानमा रहेको छ ।
चितवन ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन प्ले अफमा पुगिसकेको छ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।
लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।
क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।