काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा प्रतिभा माली र मान बहादुर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगितामा महिलातर्फ प्रतिभा र पुरुषमा मान सर्वोत्कृष्ट घोषित भएका हुन् ।
न्यु डायमण्डकी प्रतिभाले उत्कृष्ट खेल्दै टिमलाई उपाधि दिलाएकी थिइन् । आर्मीले उपाधि जित्दा मानको प्रदर्शन उत्कृष्ट रहेको थियो ।
यस्तै महिलातर्फ उत्कृष्ट लिबेरो न्यु डायमण्डकी सलिना श्रेष्ठ, सेटर न्यु डायमण्डकी अरुणा शाही, सर्भर आर्मीकी संगम महतो, स्पाइकर आर्मीकी शान्ति थारु , ब्लकर एपीएफकी सरस्वती चौधरी र उत्कृष्ट प्रशिक्षक न्यु डायमण्डका कुमार राई चुनिए ।
पुरुषमा उत्कृष्ट लिबेरो एपीएफका विनोद चन्द, सेटर पुलिसका ईम राना, सर्भर आर्मीका दुर्गा खड्का, स्पाइकर हेल्प नेपालका विनित कुमार, ब्लकर आर्मीका हरि अधिकारी र प्रशिक्षक आर्मीका जगत सिंह चुनिए ।
महिला र पुरुषको सर्वोत्कृष्ट खेलाडीले समान २५/२५ हजार प्राप्त गरे । यस्तै विधागततर्फ उत्कृष्ट हुनेले समान १० हजार प्राप्त गरे ।