काठमाडौं । बंगबन्धु गोल्डकपको कारण स्थगित भएको पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग पुनः आज (बुधबार) बाट सुचारु हुँदैछ ।
नेपाली राष्ट्रिय टोलीले बंगलादेशमा जारी बंगबन्धुमा सहभागिता जनाएपछि लिग दोस्रो खेलपछि स्थगित गरिएको थियो । तर, नेपाल समूह चरणबाट बाहिरिएपछि अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो चरणको लिग सुचारु गरेको हो ।
लिग अन्तर्गत बुधबार मछिन्द्र क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउसो ३ बजे सुरु हुनेछ । र, दुवै टोलीको लक्ष्य पहिलो जित निकाल्नु हुनेछ ।
च्यासलविरुद्ध मैदान उत्रदा मछिन्द्र आफ्नो पुरानो शाख जोगाउने लक्ष्यसहित मैदान उत्रनेछन् । मछिन्द्रसंग स्टार खेलाडी त छैन् । तर, मोफसलका चर्चित क्लब झापा ११ का खेलाडीले भरिएको मछिन्द्र बलियो रहेको छ । मछिन्द्रसंग 'ए' डिभिजन लिग खेलिसकेका खेलाडीहरुको साथ रहेको छ ।
यता, नेपाली राष्ट्रिय टोलीका सदस्य बिमल घर्ति मगरको साथ पाएको च्यासल सरप्राइज टिम हो । पहिलोपटक 'ए' डिभिजन लिग खेल्न लागेको च्यासलले मछिन्द्रलाई कडा टक्कर दिने अनुमान गरिएको छ । यस्तै च्यासललाई बिमलसंगै नेपाली राष्ट्रिय टोलीका केहि सदस्य र उमेर समूहबाट नेपालको प्रतिनिधि गरिसकेका खेलाडीको साथ छ ।
करिब ४ बर्षपछि हुनलागेको लिगको पहिलो चरण जारी रहदा संकटा ३ अंकसहित शीर्ष स्थानमा छ । संकटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । यस्तै उद्घाटन खेलमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेलेका थिए । दुवैको एक एक अंक छ ।