काठमाडौं । न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमन्ड च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पहिलो सेट गुमाएको न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गरेको थियो ।
एपीएफले पहिलो सेटमा न्यु डायमन्डलाई २६-२४ ले हराएको थियो ।
तर, त्यसपछिको सेटमा न्यु डायमन्डले एपीएफमाथि २५-२१, २५-१७ र २५-१५ को जित निकाल्यो ।
उपाधिसँगै न्यु डायमन्डले ४ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २ लाखमा चित्त बुझायो ।
तेस्रो भएको त्रिभुवन आर्मीले १ लाख प्राप्त गरेको छ ।
आर्मीले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।
विभागीय डर्बीमा आर्मीले पुलिसमाथि २५-१७, २५-२० र २५-१७ को जित निकाल्यो ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो ।
पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुषमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गरेको छ ।
विभागीय डर्बीमा पुलिसले एपीएफमाथि २५-१७,२५-१८ र २५-१४ को जित निकाल्यो ।
पुरुषतर्फ १४ टोली टोलीको सहभागिता रहेको थियो ।