काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको पुरुषतर्फको अन्तिम सेमिफाइनलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
विभागीय डर्बी भिडन्तमा आर्मीले एपीएफमाथि २५-१७,२५-१७ र २५-१९ को जित निकाल्यो ।
अब आर्मीले उपाधिका लागि साविक विजेता हेल्प नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल भोलि शनिबार हुनेछ ।
हेल्प नेपालले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
भारतीय खेलाडीको साथ पाएको हेल्प नेपालले पुलिसमाथि २५-१७,२५-१८ र २५-२१ को सेटमा जित निकालेको थियो ।
पुलिस र एपीएफले भने तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छन् ।
महिलातर्फको उपाधिका लागि एपीएफ क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।
यस्तै महिलाको तेस्रो स्थानको नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच खेल हुनेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपको महिला र पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।