काठमाडौं । न्यु डायमन्ड स्पोर्ट्स क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यु डायमन्ड उपाधि नजिक पुगेको हो ।
न्यु डायमन्डले पुलिसमाथि १८-२५,२५-१७,२१-२५,२५-१७ र १५-१० को सेटमा जित निकाल्यो ।
अब न्यु डायमन्डले उपाधिका लागि एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
एपीएफ अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमै हराएर फाइनल पुगिसकेको छ ।
रोमान्चक बनेको खेलको पहिलो सेट एपीएफले २७-२५ ले जितेको थियो । दोस्रो र तेस्रो सेटमा आर्मीले २५-२१ र २७-२५ को जित निकाल्यो ।
चौंथो सेट एपीएफले २६-२४ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो ।
त्यसपछि पाँचौ सेटमा १५-१३ को जित निकाल्दै एपीएफ फाइनल पुगेको हो ।
पुरुषको पहिलो सेमिफाइनलमा साविक विजेता हेल्प नेपाल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
आज हुने सम्पूर्ण सेमिफाइनल खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपको महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।