काठमाडौं । साविक विजेता ललितपुर प्याट्रीयट्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा शुक्रबार विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित दर्ता गरेको हो ।
ललितपुरले दिएको २ सय २७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो ।
विराटनगरका लागि दिल्शन मुनाविराले ५९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । उनले ३९ बलमा ५ चौका र ६ छक्का प्रहार गरे ।
यस्तै आसिफ शेखले ३७ रन जोड्दा चन्द्रपउल हेमराजले २८ रन जोडे । सिकन्दर राजा २४ रनमा आउट भए ।
अनिल साह ८, कप्तान करण केसी ४, सुमित महर्जन २ रनमा आउट हुँदा सौरभ खनाल सुन्य रनमा आउट भए।
बसन्त रेग्मी ९ रनमा अविजित रहदा प्रतिष जिसीले अविजित ४ रन बनाए ।
ललितपुरका अज्मतुल्लाह ओमारजाईले ४ विकेट लिए । ललित राजवंशीले २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।
यस अघि सन्दुन विराकोड्डी र अज्मतुल्लाह ओमारजाईको अर्धशतकीय इनिङ्स खेलेपछि ललितपुरले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय २६ रनको विशाल योगफल तयार पारेको थियो ।
ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यस अघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।
ललितपुरको उच्च योगफलमा ओपनर विराकोड्डीले सर्वाधिक ७३ रन जोडे । उनले ३ छक्का र १० वटा चौका प्रहार गरेका थिए । विराकोड्डीले २८ बलमा अर्धशतक प्रहार गरेका थिए ।
विराकोड्डीले प्रहार गरेको ७३ रन यस संस्करणको सर्वाधिक रनको बराबरी हो । यस अघि काठमाडौं किंग्स-११ का रायन वर्लले ललितपुरविरुद्ध अविजित ७३ रन बनाएका थिए ।
यता २१ बलमै अर्धशतक पूरा गरेका ओमारजाईले अविजित ५८ रन जोड्दा ७ छक्का प्रहार गरे ।
अर्का ओपनर तथा कप्तान कुशल भुर्तेलले १७ बलमा ३२ रन जोडे । विराकोड्डी र भुर्तेलले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे ।
यता योगेन्द्र सिंह कार्कीले १८ बलमा २७ रन जोड्दा तीन छक्का र एक चौका प्रहार गरे । नारायण जोशीले चार बलमा १८ रन जोड्दा तीन छक्का प्रहार गरे । जयकिशन कोल्सावालाले १३ रनको योगदान गरे । पवन सर्राफले दुई रन जोडे ।
विराटनगरका कप्तान करण केसीले दुई विकेट लिए । सिकन्दर राजा, प्रतिश जिसी र दिलशान मुनाविराले समान एक एक विकेट हात पारे।
यस जितसँगै ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । ललितपुर चौंथो स्थानमा उक्लिएको छ ।
विराटनगरको यो लगातार तेस्रो हार हो । अंक विहीन विराटनगर पुछारमा रहेको छ।