काठमाडौं । विभागीय टिम एपीएफ क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो।
एपीएफले गण्डकीमाथि २५-१९,२४-२६,२७-२५ र २५-२० को सेटमा जित निकाल्यो ।
यस जितसँगै एपीएफ सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ । गण्डकी भने बाहिरिएको छ ।
एपीएफ सेमिफाइनल प्रवेश गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको छ ।
यस अघि सेमिफाइनल पुग्ने टोलीमा साविक विजेता हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।