काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा गल्कोट स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हराउँदै आर्मी चारमा पुगेको हो।
राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको आर्मीले गल्कोटमाथि २५-१५,१९-२५,२५-१५ र २५-१३ को सेटमा जित निकाल्यो ।
यस जितसँगै आर्मी सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ । गल्कोट भने बाहिरिएको छ ।
यस अघि साविक विजेता हेल्प नेपाल र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
च्याम्पियनसिप अन्तर्गत नै आज हुने पुरुषको चौंथो क्वाटरफाइनलमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गरिरहेको छ ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।