काठमाडौं । नेपाल पुलिस क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो ।
राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको पुलिसले ढोरपाटनमाथि २५-१९,२५-१८ र २५-१९ को सेटमा जित निकाल्यो ।
यस जितसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ ।
यस अघि साविक विजेता हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्पले नयाँ बजार सामाजिक युवा क्लबमाथि २५-२०,२५-१० र २५-१७ को सेटमा जित निकाल्यो ।
च्याम्पियनसिप अन्तर्गत नै आज हुने पुरुष तेस्रो टरफाइनलमा त्रिभुवन आर्मी क्लब र गल्कोट स्पोर्ट्स क्लबबीच खेल हुनेछ । दुई टिमबीचको खेल ४ बजे सुरु हुनेछ ।
चौंथो क्वाटरफाइनलमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ६ बजे सुरु हुनेछ ।
च्याम्पियनसिपको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।