काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ ।
दुबईमा बुधबार राति भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।
राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बैंगलोरले १७ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
बैंगलोरका लागि ग्लेन म्याक्स्वेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
श्रीकर भारतले ४४ रन जोड्दा कप्तान विराट कोहलीले २५ रन बनाए । देबदत्त पड्डीकलले २२ रन बनाए ।
राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
राजस्थानका लागि इभिन लेविसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । याशस्भी जैसवालले ३१ रन जोड्दा कप्तान सन्जु सामसनले १९ रन बनाए ।
बैंगलोरका हर्सल पटेलले ३ विकेट लिए । युजभेन्द्र चाहल र शाहबाज अहमेदले २/२ विकेट लिए ।
यस जितसँगै बैंगलोरले ११ खेलमा १४ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा रहेको छ ।
राजस्थान ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।