काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार एभरेष्ट क्लब बुटवललाई ३-० को सेटमा पराजित गर्दै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो ।
आर्मीले एभरेष्टमाथि २५-१२, २५-१३ र २५-२१ को सेटमा जित निकाल्यो ।
यस जितसँगै समूह बीको आर्मीले १ खेलमा ३ अंक जोडेको छ । र, एक खेल अगाबै सेमिफाइनलमा प्रवेश गरेको छ ।
एभरेष्टको यो लगातार दोस्रो हार हो । यस हारसँगै एभरेष्ट समूह चरणबाट बाहिरिएको छ ।
पहिलो खेलमा एभरेष्ट न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो ।
आर्मीको जितसँगै न्यु डायमन्ड समेत सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब आर्मी र न्यु डायमन्डबीचको खेलले समूह विजेता र उपविजेताको तय हुनेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।