काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।
राष्ट्रिय खेलाडी सम्मलित पुलिसले ढोरपाटनमाथि २५-१३, २५-१४ र २५-११ को सेटमा जित निकाल्यो ।
यस जितसँगै समूह ए को पुलिसले १ खेलमा ३ अंक जोडेको छ । र, एक खेल अगाबै सेमिफाइनलमा प्रवेश गरेको छ ।
ढोरपाटनको भने यो लगातार दोस्रो हार हो । ढोरपाटन समूह चरणबाट बाहिरिएको छ ।
पहिलो खेलमा ढोरपाटन एपीएफ क्लबसँग पराजित भएको थियो ।
पुलिसको जितपछि एपीएफ समेत सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब पुलिस र एपीएफबीचको खेलले समूह विजेता र उपविजेताको तय हुनेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।