काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन् ।
प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र त्यसमा सफल भएपछि पुरानो योजना अनुसार राजीनामा दिएको बताए ।
'नेतृत्वलाई ग्रुम गराउन यो ठाउमा छिरेका हौँ । मलाई क्यान आईसीसीबाट निलम्बनबाट पूर्ण फुकुवा भएपछि राजीनामा दिन सोचेको थिए,' उनले भने, 'अलि ढिला भएको हो । यो हाम्रो पहिलेकै योजना हो ।'
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा २०७६ सालको असोज ११ गतेको निर्वाचनबाट प्याकुरेल सचिवमा निर्वाचित भएका थिए ।
प्याकुरेल अध्यक्षमा चतुरबहादुर चन्दको प्यानलबाट प्रत्यासी विनोद कुमार मैनालीलाई हराएर सचिवमा निर्वाचित भएका थिए ।
यस्तै श्रेष्ठ पनि चन्द प्यानलबाट मिङ्मा डाण्डु शेर्पालाई हराएर उपाध्यक्षमा निर्वाचित भएका थिए ।
क्यानमा नयाँ नेतृत्व आएपछि २०७६ को असोज २७ गते आईसीसीले तीन वर्षपछि क्यानको निलम्बन सशर्त फुकुवा गरेको थियो ।
सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो ।
पछिल्लो समय भने सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठको अध्यक्ष चन्दसँग सम्बन्ध बिग्रिएको थियो ।