काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब समूह विजेता बन्दै छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह विजेता बनेको हो ।
पुलिसले गण्डकीमाथि २५-१४,२५-१४ र २५-१८ को सेटमा पराजित गर्यो ।
यस जितसँगै समूह बी को विजेता पुलिसले ३ खेलमा ९ अंक जोड्यो ।
यस अघि पुलिसले मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लबलाई हराएको थियो ।
गण्डकी समूह बी को उपविजेता बन्दै अन्तिम आठमा पुगेको छ ।
गण्डकीले ३ खेलमा ५ अंक जोड्यो ।
च्याम्पियनसिप अन्तर्गत नै आज हुने पुरुषको दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल बिहान १० बजे सुरु हुनेछ ।
यस्तै तेस्रो खेलमा हेल्प नेपाल र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । हेल्प र गल्कोटबीचको खेल १२ बजे सुरु हुनेछ ।
पुरुषको चौंथो खेलमा प्रदेश-२ र बागमती प्रदेशबीच खेल हुनेछ । यस खेल दिउँसो २ बजे सुरु हुनेछ ।
यस्तै महिलातर्फको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
महिलातर्फको दोस्रो खेलमा एभरेष्ट क्लब बुटवल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
च्याम्पियनसिपको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।