काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत आज बुधबार पुरुष र महिलातर्फ गरि ६ खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज पुरुषतर्फ ४ र महिलातर्फ २ खेलहरु हुने छन् ।
आज हुने पुरुषको पहिलो खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र गण्डकीबीचको खेल बिहान ८ बजे सुरु हुनेछ ।
पुरुषको दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल बिहान १० बजे सुरु हुनेछ ।
तेस्रो खेलमा हेल्प नेपाल र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । हेल्प र गल्कोटबीचको खेल १२ बजे सुरु हुनेछ ।
पुरुषको चौंथो खेलमा प्रदेश-२ र बागमती प्रदेशबीच खेल हुनेछ । यस खेल दिउँसो २ बजे सुरु हुनेछ ।
यस्तै महिलातर्फको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
महिलातर्फको दोस्रो खेलमा एभरेष्ट क्लब बुटवल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
च्याम्पियनसिपको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।
पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल र महिलामा एपिएफ क्लब च्याम्पियन बनेको थियो ।