काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछन् ।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र पोखराबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स-११ सँग पराजित भएको थियो।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पनि पहिलो जितको खोजीमा रहेको छ । पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो । वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अंक पाएको थियो ।
यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र विराटनगर वारिवर्सबीच प्रतिस्पर्धा हुनेछ ।
भैरहवा र विराटनगरबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो ।
विराटनगर पनि पहिलो जित निकाल्न चाहन्छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।