काठमाडौं । विभागीय टिम एपीएफ क्लबले छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ क्वाटरफाइनलमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार बुढानिलकण्ठ भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले अन्तिम आठमा स्थान बनाएको हो ।
एपीएफले बुढानिलकण्ठमाथि २७-२५,२५-२७,२५-१३ र २५-१८ को सेटमा जित निकालेको हो ।
यस जितसँगै समूह डी को एपीएफले २ खेलमा ६ अंक जोड्यो । र, एपीएफ समूह विजेता बन्दै अन्तिम आठमा पुगेको हो ।
पहिलो खेलमा एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई हराएको थियो ।
यस समूहबाट अंक विहीन बन्दै बुढानिलकण्ठ बाहिरिएको छ ।
ढोरपाटन भने उपविजेता बन्दै अन्तिम आठमा पुगेको छ । पहिलो खेलमा बुढानिलकण्ठलाई हराएको ढोरपाटनले २ खेलमा ३ अंक जोड्यो ।
मंगलबारको खेलसँगै पुरुषतर्फ क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ ।
समूह ए बाट हेल्प नेपाल र गल्कोट स्पोर्ट्स क्लबले अन्तिम आठमा स्थान बनाएको छ।
समूह बी बाट नेपाल पुलिस र गण्डकी प्रदेश तथा समूह सी बाट त्रिभुवन आर्मी र नयाँ बजारले अन्तिम आठमा स्थान बनाएका छन् ।