काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।
राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले नयाँ बजारमाथि २५-२२, २५-१७ र २५-१५ को सेटमा जित निकाल्यो ।
यस जितसँगै समूह सी को आर्मीले शीर्ष स्थानमा रहदै क्वाटरफाइनलको यात्रा तय गरेको छ । समूह विजेता बनेंको आर्मीले २ खेलमा ६ अंक जोड्यो ।
पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई हराएको छ ।
यस समूहबाट नयाँ बजार समेत क्वाटरफाइनलमा प्रवेश गरेको छ । कर्णालीलाई हराएको नयाँ बजारले ३ अंक जोड्यो । कर्णाली भने दुई खेलमा हार व्यहोर्दै समूह चरणबाट बाहिरिएको छ ।
च्याम्पियनसिप अन्तर्गत पुरुषको आज हुने अन्तिम खेलमा एपीएफले बुढानिलकण्ठ भलिबल क्लबसँग खेल्नेछ । उक्त खेल साँझ ६ बजे सुरु हुनेछ।
खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।
यस च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।