काठमाडौं । गण्डकी प्रदेशले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको रोमान्चक खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकीले दोस्रो जित निकालेको हो ।
भारतीय खेलाडीसहित कोर्ट उत्रिएको गण्डकीले सुरुवाती दुई सेट २६-२४ र ३६-३४ ले जितेको थियो ।
तर, उत्कृष्ट पुनरागमन गरेको मणिमुकुन्दले त्यसपछिको दुई सेट २५-१८ र २७-२५ ले जितेपछि खेल पाँचौ सेटमा पुगेको थियो ।
पाँचौ सेटमा गण्डकीले मणिमुकुन्दलाई १५-१३ को सेटमा पराजित गर्यो ।
यस जितसँगै समूह 'बी' को गण्डकीले २ खेलमा ५ अंक जोडेको छ ।
गण्डकी क्वाटरफाइनलमा समेत पुगेको छ ।
पहिलो खेलमा गण्डकीले दावाली मिलन क्लबलाई हराएको थियो ।
मणिमुकुन्दको दोस्रो हार हो । मणिमुकुन्दले २ खेलमा १ अंक जोडेको छ ।
मणिमुकुन्द पहिलो खेलमा नेपाल पुलिससँग ३-० को सेटमा पराजित भएको थियो ।
च्याम्पियनसिप अन्तर्गत पुरुषको आज हुने तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नयाँ बजार सामाजिक युवाबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुषको चौंथो खेलमा एपीएफले बुढानिलकण्ठ भलिबल क्लबसँग खेल्नेछ । उक्त खेल साँझ ६ बजे सुरु हुनेछ ।
च्याम्पियनसिपको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।
पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।
महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।