काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने एक मात्र खेलमा काठमाडौं किङ्स-११ र पोखरा राइनोज भिड्ने छन् । काठमाडौं र पोखराबीचको खेल मध्यान्न १२:१५ बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो।
सोमबार तय भएको काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल भने स्थगित भएको थियो । वर्षाले मैदान भिजेको कारण खेल टस समेत नभई स्थगित भएको थियो ।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो । भारी वर्षाको कारण खेल रद्द भएपछि पोखरा र भैरहवाले एक एक अंक पाएको थियो ।
दुई टिमबीचको पहिल्लो दुई भेटमा दुबै टोलीले एक एक जित निकालेका छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।