काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार मणिमुकन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले जितको यात्रा कायम राखेको हो ।
लगातार दोस्रो जित निकाल्ने क्रममा पुलिसले मणिमुकुन्दमाथि २५-१४,२५-१५ र २५-१७ को सेटमा पराजित गर्यो ।
पुलिसले पहिलो खेलमा दावाली मिलन क्लबलाई हराएको थियो ।
समूह 'बी' को शीर्ष स्थानमा रहेको पुलिसले २ खेलमा ६ अंक जोडेको छ । मणिमुकुन्दले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
च्याम्पियनसिप अन्तर्गत नै सोमबार गल्कोट स्पोर्ट्स क्लबले लगातार दोस्रो जित निकालेको छ।
समूह ए को गल्कोटले प्रदेश-२ माथि २५-२३,२५-२१ र २५-१८ को जित निकालेको हो । पहिलो खेलमा गल्कोटले बागमती प्रदेशलाई हराएको थियो ।
त्यस्तै साविक विजेता हेल्प नेपाल र गण्डकी प्रदेशले विजयी सुरुआत गरेका छन् ।
बागमती प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै हेल्प नेपालले सुखद सुरुआत गरेको हो ।
हेल्पले बागमतीमाथि २५-१६,२५-१३ र २५-१२ को सेटमा जित निकालेको छ ।
गण्डकी प्रदेशले दावाली मिलन क्लबलाई ३-१ को सेटमा पराजित गर्यो ।
भारतीय खेलाडीसहित कोर्ट उत्रिएको गण्डकीले दावालीमाथि २५-१२,२५-२२,२०-२५ र २७-२५ को सेटमा जित निकालेको छ । दावालीको भने यो लगातार दोस्रो हार हो ।
नयाँ बजार सामाजिक युवा क्लबले कर्णाली प्रदेशमाथि २५-१८, २५-१९ र २५-२१ को सेटमा जित निकाल्दै सुखद सुरुवात गरेको छ ।
त्यस्तै ढोरपाटन स्पोर्ट्स क्लब बुढानिलकण्ठ भलिबल क्लबलाई २५-१९, २५-२३ र २५-१५ को सेटमा हराएको छ ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।
पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।
महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।