काठमाडौं । गण्डकी प्रदेशले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको खेलमा दावाली मिलन क्लबलाई ३-१ को सेटमा पराजित गर्दै गण्डकीले सुखद सुरुआत गरेको हो।
भारतीय खेलाडीसहित कोर्ट उत्रिएको गण्डकीले दावालीमाथि २५-१२,२५-२२,२०-२५ र २७-२५ को सेटमा जित निकाल्यो ।
दावालीको भने यो लगातार दोस्रो हार हो ।
गल्कोट स्पोर्ट्स क्लबले भने लगातार दोस्रो जित निकालेको छ ।
प्रदेश नम्बर-२ लाई ३-० को सोझो सेटमा पराजित गर्दै गल्कोटले लगातार दोस्रो जित निकालेको हो ।
गल्कोटले प्रदेश-२ माथि २५-२३,२५-२१ र २५-१८ को जित निकाल्यो । पहिलो खेलमा गल्कोटले बागमती प्रदेशलाई हराएको थियो ।
साविक विजेता हेल्प नेपालले समेत विजयी सुरुआत गरेको छ ।
बागमती प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै हेल्प नेपालले सुखद सुरुआत गरेको हो ।
हेल्पले बागमतीमाथि २५-१६,२५-१३ र २५-१२ को सेटमा जित निकालेको हो ।
च्याम्पियनसिप अन्तर्गत आजको चौंथो खेलमा नेपाल पुलिस क्लबले मणिमुकन्द भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यस खेल दिउँसो २ बजे सुरु हुनेछ ।
त्यस्तै पाँचौं खेलमा नयाँ बजार सामाजिक युवा क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ । यस खेल अपरान्ह ४ बजे सुरु हुनेछ ।
दिनको अन्तिम खेलमा बुढानिलकण्ठ भलिबल क्लबले ढोरपाटन स्पोर्ट्स क्लबसँग खेल्नेछ । यस खेल साँझ ६ बजे सुरु हुनेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।
पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।
महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।