काठमाडौं । विभागीय टिम एपीएफ क्लब र गल्कोट स्पोर्ट्स क्लबले छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुवात गरेका छन्।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्यो ।
पहिलो सेट २६-२८ ले गुमाएको एपीएफले त्यसपछिको सेटमा लगातार जित्दै सुखद सुरुवात गरेको हो ।
एपीएफले दोस्रो सेट २५-१८, तेस्रो सेट २५-१५ र तेस्रो सेट २५-१५ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।
यस्तै गल्कोटले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
गल्कोटले बागमतीमाथि २५-१९,२५-१७ र २५-१७ को सेटमा जित निकालेको हो ।
यस अघि पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
प्रतियोगिता अन्तर्गत आज हुने अन्तिम खेलमा नेपाल पुलिस क्लब र दावाली मिलन क्लबबीच ३:३० बजे प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फको खेल मंगलबार सुरु हुनेछ ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ ।
क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछ ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।