काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो ।
राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले कर्णालीलाई पहिलो सेटमा २५-८, दोस्रो सेटमा २५-१४ र तेस्रो सेटमा २५-७ ले पराजित गर्यो ।
यस जितसँगै आर्मीले पहिलो खेलमै ३ अंक जोडेको छ । कर्णालीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
आज हुने दोस्रो खेलमा समूह डीको एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ११ बजे सुरु हुनेछ ।
पुरुषतर्फको तेस्रो खेलमा समूह एको बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।
चौंथो खेलमा नेपाल पुलिस क्लब र दावाली मिलन क्लबबीच ३:३० बजे प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फको खेल मंगलबार सुरु हुनेछ । महिलाको पहिलो खेलमा एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ १४ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ ।
क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछ ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।