काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ ।
नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने जनाएको छ ।
राखेपको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघले जनाएको छ ।
पुरुषमा टिप टप हेल्प नेपाल, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स, मणिमुकुन्द क्लब, बागमती प्रदेश, दावाली मिलन क्लब, नयाँबजार सामाजिक क्लब र कर्णाली प्रदेशको सहभागिता रहेको छ ।
महिलातर्फ न्यु डाईमण्ड, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, एभरेष्ट क्लब बुटवल र ढोरपाटन स्पोर्ट्स क्लबको सहभागिता रहने छ ।
संघले यस प्रतियोगिता छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको छनोट रहेको जनाएको छ ।
क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशीमा वृद्धि गरिएको समेत जनाएको छ ।
विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछ ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।
प्रतियोगिता आयोजना गर्न करिब ४० लाख खर्च हुने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए।
उनले यस प्रतियोगिताबाट राम्रो खेलाडी छनोट गर्ने समेत बताए ।