काठमाडौं । रिभाईभ लिजरपार्कको स्थापनाको उपलक्ष्यमा प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप असोज १ गते देखि हुने भएको छ ।
पार्कको आफ्नै कभर्डहलमा हुने च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० वर्ष माथिको भेट्रान्स युगल गरि ४ विधामा खुल्ला प्रतियस्पर्धा हुनेछ ।
च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरि तीन विभागिय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आईरहेका विदेशी खेलाडीहरुलाई पनि सहभागिता गराईने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
नेपाल ब्याडमिन्टन संघको स्विकृती तथा प्राविधिक सहयोगमा हुने च्याम्पियनसिपमा २०० बढी खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।
करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शीर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ वर्ष माथीको भेटरान्स युगलतर्फ शीर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।
च्याम्पियनसिपलाई आन्तरिक, राष्ट्रिय खेलकुद परिषद्, नेपाल सरकार, विभिन्न बित्तिय संस्थाहरुको आर्थिक सहयोग रहने सम्मेलनमा जानकारी गराईएको थियो।