काठमाडौं । टोकियो पारालिम्पिकका लागि जापान जान लागेका ब्याडमिन्टन अम्पायर उदय अर्याललाई खेलकुद सामाग्री उत्पादक कम्पनी लि निङले सहयोग गरेको छ ।
पारालिम्पिकमा लाईन जजको भूमिका निर्वाह गर्न लागेका अम्पायर अर्याललाई लि निङले खेलकुद सामाग्री सहयोग गरेको हो ।
लि निङले बिहीबार अम्पायर अर्याललाई ब्याग, ट्याकसुट, टिसर्ट, जुत्ता, मोजा र क्याप प्रदान गरिएको जनाएको छ । लि निङले पछिल्लो समय नेपालको ब्याडमिन्टन खेललाई सहयोग गर्दै आइरहेको छ ।
ब्याडमिन्टन एशियाका अम्पायर अर्याल शनिबार जापान प्रस्थान गर्ने छन् ।
नेपालको राष्ट्रिय रेफ्री समेत रहेका अर्याललाई विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) पारालिम्पिकका लागि छनोट गरेको हो ।
बिस २०४४ सालबाट राष्ट्रिय अम्पायर रहेका अर्यालले २०१९ मा बीडब्लुएफबाट अन्तराष्ट्रिय लाईन जजको मान्यता प्राप्त गरेका थिए ।
त्यसअघि उनले सन् २००० मा जापानको क्योटोबाट ब्याडमिन्टन एशियाको अन्तराष्ट्रिय अम्पायरको मान्यता पाएका थिए ।