काठमाडौं । बेलायत सरकारले सन् २०२४ मा फ्रान्समा आयोजना हुने ओलम्पिक खेलकुदका लागि २ सय ३२ मिलियन पाउण्ड लगानी गर्ने भएको छ ।
बेलायत सरकारले पेरिस ओलम्पिक र पाराओलम्पिकमा उत्कृष्ट नतिजा निकाल्न २ सय ३२ मिलियन पाउण्ड खेलाडीमा खर्च गरिने जनाएको छ ।
टोकियो ओलम्पिकमा उत्कृष्ट नतिजा आएको भन्दै बेलायत सरकारले ग्रेट ब्रिटेन र नर्दन आयरल्याण्डका खेलाडीका लागि लगानीमा वृद्धि गर्ने निर्णय गरेको हो ।
टोकियो ओलम्पिकमा ग्रेट ब्रिटेनले २२ स्वर्णसहित ६५ पदक जितेको थियो । र, तालिकाको चौंथो स्थान हासिल गरेको थियो ।
बेलायत सरकारले ओलम्पिक तयारीका लागि अब वार्षिक ७७.४ मिलियन पाउण्ड खर्च गरिने जनाएको छ । बेलायतले २३.४ मिलियन पाउण्ड खर्च बढाएको हो ।
यस अघि ओलम्पिक तयारीका लागि बेलायतले वार्षिक ५४ मिलियन पाउण्ड खर्च गर्दै आइरहेको थियो।