काठमाडौं । तेस्रो संस्करणको हेलम्बु ट्रेल म्याराथन प्रतियोगिता कार्तिक पहिलो साता हुने भएको छ । आयोजक हिमालय स्पोर्ट्स क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कार्तिक ६ गते हुने जानकारी गराएको हो ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा हुने प्रतियोगितामा तीन स्पर्धा राखिएको छ । जसमा फुल म्याराथन, ५ किमिको खुल्ला दौड र ५ किमिको वाकथान हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ४७० स्वदेशी र ३० विदेशी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फुल म्याराथनतर्फको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद प्राप्त गर्नेछन् । यस्तै दशौं स्थानसम्मका खेलाडीलाई समेत पुरस्कृत गरिने अयोजकले जनाएको छ ।
प्रतियोगिताको फुल म्याराथनमा सहभागीता जनाउन ४ हजार ५ सय दर्ता शुल्क बुझाउनु पर्नेछ । ५ किमिको खुल्ला दौड र वाकथनतर्फ एक हजार दर्ता शुल्क लाग्नेछ । सहभागी खेलाडीको यातायात र खान बस्न खर्च आयोजकले बेहोर्ने छ ।