काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागी जनाउने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बिहीबार) बिदाइ गर्ने भएकी छिन् ।
राष्ट्रपति भण्डारीले जापान जाने नेपाली टोलीलाई राष्ट्रपति भवनमा अपरान्ह ३ बजे बिदाइ गर्ने कार्यक्रम रहेको छ ।
पुरानो परम्परा अन्तर्गत राष्ट्रपतिले ओलम्पिक टिमलाई बिदाइ गर्न लागेका हुन् ।
टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीसहित २६ सदस्सीय टिमले सहभागिता जनाउने छन् ।
नेपाल ओलम्पिक कमिटिले ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरि २६ सदस्सीय टिम सहभागी हुने बताएको छ ।
टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र ४ प्रशिक्षक सहभागी हुनेछन् । त्यसबाहेक अन्य पदाधिकारी रहेका छन् ।
टोकियो ओलम्पिकमा पौडीबाट गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स), एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् ।
ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरिका सिंह र एलेक्स शाहले नेपालको झण्डा बोक्ने छन् । यस्तै टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेका छन् ।