एजेन्सी । टोकियो ओलम्पिकमा पदक विजेता खेलाडीले आफैले पदक लगाउनुपर्ने भएको छ ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अध्यक्ष थोमस बाकले यसको पुष्टि गर्दै पदक विजेता खेलाडी स्वयमले मेडल आफुले लगाउनुपर्ने बताएका हुन् ।
बुधबार सञ्चार माध्यमलाई जानकारी दिदै अध्यक्ष बाकले कोरोना भाईरसको संक्रमणलाई फैलनबाट रोक्न खेलाडी आफैले पदक लगाउनुपर्ने जानकारी दिएका हुन् ।
‘पदकलाई खेलाडीको गलामा राखिनेछैन । पदक खेलाडीलाई ट्रेमा दिईनेछ । र एथलिट स्वयमले पदक लिएर लगाउनुपर्नेछ ।’ उनले भने ।
उनले थपे, ‘यो समेत सुनिश्चित गरिएको छ कि जो व्यक्तिले ट्रेमा पदक राख्नेछन्, उनी किटाणु रहित तरिकाले ट्रेमा राख्नेछन् । यो सुनिश्चित गरिनेछ कि कसैले पनि पदकलाई छोएको हुने छैन ।’
ओलम्पिकमा कोरोना भाईरसबाट बच्न उच्च सतर्कता अपनाईएको छ । जापान सरकारले ओलम्पिकको समय टोकियोमा आपतकालको घोषणा गरेको छ ।
तर यूएफका अध्यक्ष एलेक्सान्द्र सेफेरिनले पछिल्लो युरोकपको फाईनलमा पदक विजेता खेलाडीलाई आफै पदक लगाईदिएका थिए ।
सेफेरिनले इटालीबाट उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी गोलकिपर जियालुइगी डोनारुम्बालाई लण्डनमा पदक सहित ट्रफी प्रदान गरेपछि समारोहमा हात समेत मिलाएका थिए ।
आईओसी अध्यक्ष बाकले समारोहको दौरान कसैले पनि एक आपसमा हात नमिलाउने बताएका छन् । र कसैले पनि अंकमाल गर्ने छैनन् ।
ओलम्पिक पदक आईओसी सदस्य वा खेल सञ्चालन गर्ने संस्थाका शीर्ष अधिकारीले प्रदान गर्दै आएका थिए । आईओसीले यसअघि पदक विजेता र समारोहका अधिकारीले समेत मास्क लगाउनुपर्ने बताएको थियो ।