काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले मनाङ जिल्लाका बाढी र पहिरो प्रभावितलाई ३० लाख बराबरको राहत सामग्री वितरण गरेको छ ।
सहिद स्मारक 'ए' डिभिजन क्लब मनाङले जिल्लाका विभिन्न स्थानका बाढी प्रभावितलाई राहत सामग्री र स्वास्थ्य सामग्री वितरण गरेको हो ।
मनाङले पिसाङ, नगाल, घ्यारु, ताल, हुन्दे र खाङ्सारमा चामल, खाने तेल, कपडा, मास्क, सेनिटाइजर, ग्लोभ्स र अक्सिमिटर लगायतका खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको जनाएको छ ।
निश्याङ मनाङ महिला सोसाइटीसँगको सहकार्यमा राहत वितरण गरिएको क्लबका अध्यक्ष मुखिया गुरुङले जानकारी गराए ।
'अहिले आपतकालीन अवस्थामा आवश्यक व्यक्तिहरुलाई राहत प्रदान गरिएको हो । चाडै क्लबले थप राहत र स्वास्थ्य सामग्री पठाउने छ,' अध्यक्ष गुरुङले भने ।
क्लबका अध्यक्ष गुरुङले राहत वितरणमा सहयोग गरेकोमा अखिल रिमाल, कोर्मा पिन्ग्रे पिसाङ, किरण काटिले, दिपक श्रेष्ठ, प्रकाश घले लगायत बेसीसहरका युवाहरुलाई धन्यवाद दिए ।
महिला सोसाइटीकी अध्यक्ष कर्मा ओन्जिनले सामाजिक कार्यका लागि सोसाइटी सधै तयार रहेको बताईन् ।
'हामी महिला सोसाइटी आवश्यक पर्नेहरुलाई सहयोग गर्न सधै तयार छ,' उनले भनिन् ।
मनाङका महासचिव तेन्जिङ गुरुङले मनाङमा रहेका व्यक्तिहरुसँग समन्यव गरेर थप राहत सामग्री पठाउने बताए ।
मनाङ जिल्ला फुटबल संघका अध्यक्षनिरज गुरुङले मनाङको फुटबल समुदाय सधै मनाङको जनतासँग रहेको बताए ।
मनाङले पछिल्लो समय खेलकुदसँगै सामाजिक कार्य गर्दै आईरहेको छ ।
मनाङले यस अघि कोरोना प्रभावितलाई निशुल्क खाना वितरण गरेको थियो ।