एजेन्सी । ओलम्पिक सुरु हुनु अघि जापानको राजधानीमा सोमबारबाट संकटकाल घोषणा गरिएको छ । करिब ६ हप्ता चल्ने संकटकाल अगष्ट २२ सम्म लागू हुने बताईएको छ ।
कोभिड–१९ संक्रमितको संख्या बढेसंगै अस्पतालमा भिड सुरु हुन लागेको छ ।
महामारी सुरु भएपछि चौथो पटक संकटकाल घोषणा गरिएको हो । नयाँ संकटकालको मुख्य लक्ष्य बार र रेष्टुरेन्टमा हुने भिडलाई रोक्ने रहेको छ ।
स्थानीय अधिकारीका अनुसार समूहमा हुने जमघटलाई रोक्न र घरमै बस्नका लागि संकटकाल लागु गरिएको हो ।
संकटकाल लागु भएपछि रंगशालामा प्रशंसक जान पाउने छैनन् । यसले जुलाई २३ बाट अगष्ट ८ सम्म हुने ओलम्पिकमा गम्भिर असर पर्नेछ । नयाँ प्रतिबन्धपछि प्रशंसकलाई खेलहरु टेलिभिजनमा देखाईनेछ ।
संकटकालको दौरान पार्क, संग्रहालय, सिनेमा हल र अधिकांश पसल र रेष्टुरेन्ट रातिको ८ बजेपछि बन्द गर्न अनुरोध गरिएको छ । टोकियो निवासीलाई बिना जरुरी काम बाहिर ननिस्कन र घरबाटै काम गर्न अनुरोध गरिएको छ । सर्वसाधारणलाई मास्क लगाउन र आवश्यक सुरक्षा उपाय अपनाउन अनुरोध गरिएको छ ।
यस संकटकालबाट टोकियो सहित करिब ३ करोड मानिस प्रभावित हुने अनुमान गरिएको छ । जापानले दोस्रो देशको तुलनामा भाइरसको निकै राम्रोसंग सामना गरिरहेको छ । यसबाट ८ लाख बढी मानिस प्रभावित बनेको र मृत्यु हुनेको सख्या १५ हजार रहेको छ ।