काठमाडौं । धीरेन्द्र प्रधान अखिल नेपाल फुटबल संघ (एन्फा) फर्कने भएका छन् ।
तत्कालिन महासचिव प्रधान नयाँ जिम्मेवारीका साथ एन्फामा फर्कने भएका हुन् ।
एन्फाले प्रधानलाई खेल स्थल संयोजकको जिम्मेवारी दिने भएको छ । नयाँ जिम्मेवारी सहित प्रधान एन्फा फर्कने टुङ्गो लागेको हो ।
एन्फा हेडक्वार्टरमा बिहीबार अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव ईन्द्रमान तुलाधर, कोषाध्यक्ष रबीन्द्र जोशी सहितको उपस्थितीमा प्रधानलाई एन्फा फर्काउने बिषयमा सहमति जुटेको हो ।
'काम गर्ने मान्छे हुँ, राजनीति गर्ने हैन । एन्फाका अन्तराष्ट्रिय प्रतियोगिताहरु धेरै छन् । धेरै विदेशी टिमहरु आउँदैछन् । अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव भएकाले अध्यक्ष सहितले अनुरोध गरे । भेन्यु कोर्टिनेटर जिम्मेवारी निभाउने कुरा भएको छ ।' प्रधानले खेलपाटीसँग भने ।
प्रधान एन्फा फर्कने बिषयलाई तत्काल गोप्य राख्ने र कार्यसमितिबाट पास गराएर जिम्मेवारी दिने औपचारिक सहमति बनेको छ ।
एन्फामा लामो समय महासचिवको जिम्मेवारी सहित काम गरेका प्रधान पछिल्लो समय फुटबलबाट टाढा थिए । लामो समय एन्फाका पूर्व अध्यक्ष गणेश थापासंग सहयात्रा गरेका प्रधान एन्फामा नयाँ नेतृत्व आएपछि फुटबलको प्रशासनीक भूमिकाबाट हराएका थिए ।
नेपाल प्रहरी हुँदै राष्ट्रिय फुटबल टिमबाट लामो समय खेलेका प्रधानकाे महिला फुटबल विकासमा विशेष योगदान छ । विभागीय टिममा महिला टिम निर्माणको जस प्रधानलाई जान्छ । उनी सहितको टिमले पुलिस, एपीएफ हुँदै नेपाल आर्मीको महिला फुटबल बनाउन नेतृत्वदायी भूमिका खेलेकाे थियाे ।
उनले एन्फासंग महिला टिमकै जिम्मेवारी समेत माग गरेका थिए । तर एन्फाले राष्ट्रिय महिला फुटबल टिमको जिम्मेवारी विदेशी प्रशिक्षक ग्यारी फिलिप्सलाई दिने निर्णय गरिसकेको छ ।
एन्फा एकेडेमीको पहिलो ब्याजको हेर्ने गरि फुटबल संघ छिरेका प्रधान सह–सचिव हुँदै झण्डै दशक बढी समय महासचिवको रुपमा काम गरे । उनी पछिल्लो समय नरेन्द्र श्रेष्ठको पालामा समेत एन्फा महासचिवको रुपमा कार्यरत थिए ।
'मेरो कसैसंग नराम्रो छैन । राजनीति गरेर हिडेनौं । चाहिन्छ भन्नेलाई सहयोग गर्ने हो । फुटबल विकासका लागि काम किन नगर्ने भनेर जिम्मेवारी लिएको हुँ ।' उनले भने ।
एन्फाको आसन्न चुनाव नजिकिदै जादा एन्फामा प्रधानको पुनरागमनलाई निकै महत्वका साथ हेरिएको छ । तर प्रधानले चुनाव भन्दा काम गर्नका लागि आफु फुटबलमा लाग्ने बताए ।
‘एन्फाको चुनावमा हुदैछ । कमिटिमा गएर काम गर्ने भन्दा फिल्डको जिम्मेवारी पाए काम गर्छु भन्नेछ ।’ उनले भने ।