विराटनगर सिटी एफसी र भुटानको पारोबीच सम्झौता

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाईज टिम विराटनगर सिटी एफसीले भुटानको क्लब पारो एफसीसँग सम्झौता गरेको छ ।
विराटनगरले शनिबार एक विज्ञप्ति निकाल्दै भुटानी क्लबसँग क्लबले सम्झौता गरेको जनाएको छ ।
दुई देशको फुटबल विकास र स्तर सुधारका लागि पारोसँग सहकार्य गरिएको विराटनगरले जनाएको छ ।
'पारो फुटबल क्लबसँग सम्झौता पत्रमा हस्ताक्षर भएको घोषणा गर्न पाउँदा विराटनगर सिटी एफसी खुसी छ,' विज्ञप्तिमा भनिएको छ,'हामी साझेदारीसँग धेरै उत्साहित छौं ।'
विराटनगरले पारोसँग एक वर्षको सम्झौता गरेको हो । सम्झौता पछि थप गर्दै लगिने बताईएको छ ।
सम्झौता अनुसार दुई क्लबबीच युवा तथा सिनियर खेलाडीको आदानप्रदान, प्रि-सिजनका लागि मैत्रीपूर्ण खेल तथा फुटबल विकासका लागि प्राविधिक विशेषज्ञको आदानप्रदान हुनेछ ।
पहिलो संस्करणको एनएसएलमा विराटनगर लिग चरणबाट बाहिरिएको थियो ।