काठमाडौं । करिब पाँच बर्ष स्थगित रहेको पल्सर सहिद स्मारक ए डिभिजन लिग आज सुरु हुदैछ । घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि स्थगित हुँदै आएको ए डिभिजन लिग आज सुरु हुन लागेको हो ।
रेलिगेशन नहुने प्रावधान सहित सुरु गर्न लागिएको लिगमा उपत्यकाका शीर्ष १४ क्लबले करिब तीन महिना प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पहिलो खेलमा विभागीय टिम आर्मी र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा उत्रदै गर्दा दुवै टोलीको लक्ष्य सफल सुरुवात गर्नु हुनेछ ।
एनआरटीका प्रशिक्षक महेश्वर पन्थीले करिब एक महिनामात्र तयारी गर्न पाएकाले सोचे अनुसारको अभ्यास गर्न नपाएको बताउछन् । मोफसल र काठमाडौंका सामान्य खेलाडीलाई समावेश गर्दै टोली बनाईएको उल्लेख गर्दै उनले उद्घाटन खेलमा उत्कृष्ट प्रर्दशन गर्ने बताए ।
‘तयारी नराम्रो भएपनि टोलीले राम्रो खेल्छ भन्ने मेरो विश्वास हो । लिगको उपाधि हाम्रो लक्ष्य होईन तर चौथो, पाँचौकालागि हामी खेल्नेछौ ।’ उनले भन्छन्, ‘हामीसंग राम्रा र महङ्गा खेलाडी छैनन् । हामी भन्दा राम्रा टिम अरु पनि छन् । तर खेलाडीले राम्रो खेल्ने अपेक्षा छ ।’
यता, पुर्व राष्ट्रिय खेलाडी नविन न्यौपानेले यसै ए डिभिजन लिगबाट प्रशिक्षकको रुपमा डेब्यु गर्दैछन् । लामो समयबाट अभ्यास र तयारीमा रहेको टोलीबाट उनले उपाधि जित्ने लक्ष्य लिएका छन् ।
‘पहिलो पटक प्रशिक्षकको जिम्मेवारी ए डिभिजन लिगमा निभाउदैछु । एक पटक समेत लिग नजितेको आर्मीलाई उपाधि जिताउनु मेरो मुख्य लक्ष्य हुनेछ ।’ उनले भने, ‘आर्मीले स्वभाविक खेल खेल्छ । तर राम्रा खेलाडीबाट नतिजा राम्रो निस्कने अपेक्षा गरेको छ ।’