काठमाडौं । सन् १८९६ मा ग्रिसमा समर ओलम्पिक सुरु भयो । जसमा १४ राष्ट्रका खेलाडीले दश विधामा प्रतिस्पर्धा गरेका थिए । नेपालले भने सन् १९६४ मा जापानको टोकियोमा भएको समर ओलम्पिकबाट मात्रै सहभागीता जनाउन थालेको हो ।
टोकियोमा ६ जना खेलाडी पठाएर नेपालले ओलम्पिक यात्राको शुरुवात गर्यो । जसमा दुई म्याराथन धावक भूपेन्द्र बहादुर र गंगा बहादुर थापा थिए । अन्य चार मुक्केबाज थिए । ती नामसिंह थापा, भीम बहादुर गुरुङ, रामप्रसाद गुरुङ र ओमप्रसाद पुन थिए । जसले पहिलो पटक ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए ।
धावकद्धय भूपेन्द्र र गंगाले दौडनै पुरा गर्न सकेनन् । तर नेपाली मुक्केबाजको प्रदर्शन भने सम्झना लायक रह्यो । मुक्केबाजद्धय भिमबहादुर र रामप्रसाद शीर्ष ३२ बाटै बाहिरिए । नामसिंह थापा र ओमप्रसादले शीर्ष १६ सम्मको यात्रा तय गरेका थिए ।
रामप्रशाद गुरुङले लाइट वेटमा नेपालको चुनौती प्रस्तुत गरेका थिए । नामसिंह थापाले फ्लाइ वेटमा खेल्दा, भीमबहादुर गुरुङले फेदर र ओमप्रशाद पुनले लाइट वाल्टर वेटमा प्रतिनिधित्व गरेका थिए ।
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै मुक्केबाजले गरेको प्रदर्शनबाट सर्वसाधारणमा बक्सिङप्रति थप रुचि पैदा गरेको प्रशिक्षक प्रचण्ड शर्मा बताउँछन् । ओलम्किपमा सहभागिता जनाउने नेपालको पहिलो खेल मध्यको एक बनेको बक्सिङले त्यसपछिका तीन संस्करणमा ओलम्पिकमा सहभागिता जनाउन सकेन ।
को थिए पहिला ओलम्पियन चार बक्सर ?
सन् १९६४ मा जापानका आयोजना भएको टोकियो ओलम्पिकमा बक्सिङतर्फ नेपालले सहभागीता जनाउने निर्णय गर्यो । त्यसका लागि जनरल मृगेन्द्रशमशेर राणाको अध्यक्षतामा ‘नेपाल बक्सिङ संघ’ को स्थापना भयो । नव गठित संघले ओलम्पियनको खोजी गर्यो । तर नेपालमा ओलम्पिक खेल्न सक्ने बक्सर भेटिएनन् । खेलाडी नभेटेपछि संघले ब्रिटिस गोर्खामा रहेका नेपाली बक्सरको खोजी गर्यो ।
सोही क्रममा पल्टनमा रहँदा बक्सिङ खेलिरहेका र केही अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका चार ब्रिटिस आर्मीबारे जानकारी पाए । त्यसपछि संघले चार ब्रिटिस लाहुरेको नाम नेपालबाट ओलम्पिक खेल्नका लागि सिफारिस गर्यो । जुन विषय चार जना बक्सरलाई थाहा थिएन ।
‘नेपालबाट ओलम्पिक खेल्नका लागि बक्सिङ संघले गरेको प्रस्ताव हामीहरुलाई थाहा थिएन । पल्टनमा रहेका स्पोर्टस काउन्सिलरले खबर गर्नु भएको थियो ।’ ओलम्पियन रामप्रसाद गुरुङले खेलपाटीसंग भने, ‘नेपालबाट ओलम्पिकका खेल्नका लागि छनोट गरेको छ । ओलम्पिकमा जानु पर्छ । अब प्रशिक्षण गर्नु पर्छ भनेर काउन्सिलरले भनेपछि हामी चार जनाले प्रशिक्षण सुरु गरेका थियौं ।’
उनले थपे, ‘त्यो बेला नेपालमा बक्सिङको अवस्था कस्तो थियो थाहा थिएन । त्यो समय खासै नेपालमा बस्न पाएका पनि थिएनौं । हामीभन्दा पनि धेरै राम्रा–राम्रा खेलाडी थिए होलान् । तर भाग्यले हामीलाई ओलम्पिकमा नेपालको भण्डा बोक्ने अवसर दिलायो ।’
नेपालले चार जनाको नाम सिफारिस गरेपछि पल्टनलेनै अस्ट्रेलियाबाट व्यवसायीक बक्सर झिकाएर ओलम्पिकको तयारी गराएको थियो । खेलाडी पल्टनबाटै नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिकमा पुगेका थिए । उनीहरु हर्कुलिस हवाइ जहाजबाट जापानको ओकिनावा पुगे । त्यहाँ रहेका शैनिकसंग एक साता प्रशिक्षण गरेपछि नेपाली टोली टोकियो पुग्यो ।
‘नेपालको झण्डा बोकेर ओलम्पिक ट्रयाकमा हिड्न पाउँदा गौरवको अनुभव भएको थियो । राष्ट्रको झण्डा बोक्न पाए हुन्थ्यो भन्ने सपना पुरा हुँदै थियो । खेलकुदले राष्ट्रको झण्डा बोकेर विश्व सामु हिड्ने अवसर दियो । सबै साथीलाई यसले निकै खुसी दिएको थियो ।’ गुरुङले ती दिन सम्झिए ।
‘विश्व स्तरीय खेलाडीसँग हामीले बक्सिङ खेलेका थिएनौ । मलाया, सिंगापुर, हङकङभित्र स्थानीयसँग, आर्मीका बक्सरसँग खेलेको अनुभवले ओलम्पिकमा खेलेका थियौ । पदकनै दिलाउन नसके पनि निडर भएर देशको प्रतिनिधित्व गरेका थियौ ।’ ओलम्पियन गुरुङले भने ।
पहिलो ओलम्पियनको बोक्सिङ यात्रा
चारै जना ओलम्पियन ब्रिटिस गोर्खा राइफमा भर्ना भएका थिए । १४ वर्षको उमेरमा गोर्खा पल्टनको ब्वायमा भर्ना भएका उनीहरु तीन वर्षपछि मात्रै गोर्खा राईफमा प्रवेश गरेका थिए । ब्वयमा भर्ना भएका उनीहरु तीन वर्ष मलाया (अहिलेको मलेसिया)मा तालिम गरेका थिए । ब्रिटिस गोर्खाको ब्वायमा रहँदा उनीहरुको बढी जसो पढाइ हुन्थ्यो । तालिममा बचेको समय बक्सिङ खेल्ने गरेको ओलम्पियन गुरुङ बताउँछन् ।
‘ब्रिटिस गोर्खाको ब्वायमा रहँदा बक्सिङ खेल्न सुरु गरेका थियौ । ब्वायमा रहँदा बढी समय पढाईमा दिनु पर्ने हुन्थ्यो । बाँकी रहेको समयमा बक्सिङ खेल्थ्यौं ।’ गुरुङले भने, ‘तीन वर्ष ब्वायमै बस्नु परेकाले त्यतिबेला कहिले मलायाको स्थानीय शहरमा बोक्सिङ खेल्न पुग्थ्यौं । कुनै समय सिङ्गापुर पुगेर समेत बक्सिङ खेल्थ्यौं ।’
१८ वर्षको उमेर हुने ९–१० महिनाको तालिमपछि गोर्खा राइफमा प्रवेश गर्थे । तर उनीहरुको उमेर नपुगेकाले तीन वर्ष ब्वायमै बस्नु परेको थियो । त्यो समय उनीहरुले बक्सिङलाई दिए । नेपाली बोक्सिङ ईतिहासको पहिलो पानामा आफ्नो नाम लेखाए ।
उनी सहितको टोली सन् १९६२ को अन्त्य तिर गोर्खा राइफमा प्रवेश गरेको थियो । गोर्खा राइफमा प्रवेश गरिसकेपछि समेत उनले बक्सिङको प्रशिक्षण गर्न छाडेका थिएनन् । गोर्खा राइफमा प्रवेश गरिसकेपछि उनले सिभिल बक्सरसँग प्रतिस्पर्धा गर्न सुरु गरे ।
हङकङ पुगेर बक्सिङ प्रतियोगिता खेले । उनले गोर्खा राइफबाटै धेरै प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका थिए । तर ती प्रतियोगितामा उच्च स्तरका व्यवसायीक बक्सर नरहेको गुरुङ बताउँछन् ।
ओलम्किपबाट फर्केपछि...
पहिलो पटक ओलम्पिकमा सहभागी नेपाली टोली मिश्रित प्रदर्शन गर्दै फर्कियो । टोलीका चारै जना ब्रिटिस आर्मीमा रहेकाले उनीहरु त्यहाँबाट सोझै पल्टन लागे । पल्टनबाटै नेपालको प्रतिनिधित्व गर्न जापान पुगेपनि उनीहरुलाई नेपाल जान अनुमती थिएन ।
बक्सिङतर्फ नेपालका लागि पहिलो ओलम्पियन बनेका चारै जनाको टोकियो ओलम्पिकनै अन्तिम प्रतियोगिता रह्यो । उनीहरुले त्यसपछि कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धा गरेनन् ।
‘त्यतिबेला ब्रुनाई लडाँई थियो । इन्डोनेसियनको लडाँई थियो । चारै जना एउटै पल्टनको भएकाले लडाँईका लागि खटियौ ।’ ओलम्पियन गुरुङले बताए, ‘अपरेशनको बेलामा म पल्टनको कम्युनिकेटर अफिसर थिए । लडाँइको अपरेशनमा लाग्यौ । बक्सिङ खेल्न बन्द भयो ।’
उनले थपे, ‘इन्डोनेसियन लडाँइका लागि आउने गर्थे । त्यसका लागि हामीहरु सिमानामा खटिएका थियौं । उनीहरुलाई सिमाना भित्र पस्न नदिने काम हाम्रो थियो ।’
नेपालका लागि पहिलो ओलम्पियन बने पनि हालसम्म नेपाल सरकारबाट कुनै सम्मान नपाएको गुरुङको दुखेसो छ । ओलम्पियनलाई दिने मासिक भत्ता बाहेक अन्य कुनै सेवा सुविधा र सम्मान सरकारबाट नपाएको गुरुङ बताउँछन् । उनले बक्सिङ संघबाट एउटा मायाको चिनो बाहेक अहिलेसम्म कुनै सम्मान नपाएको बताउँछन् ।
सन् १९६४ को टोकियो ओलम्पिकका लागि स्थापना भएको ‘नेपाल बक्सिङ संघ’ त्यसपछि निस्कृय हुँदै गयो । ओलम्पिकको सहभागीतापछि करिब १२ वर्ष संघ निस्कृय जस्तै रह्यो । तर नेपाली बक्सरको उर्जा र सर्वसाधारणले खेल्न पाउने भएपछि बक्सिङ फेरी जाग्यो र नयाँ ‘नेपाल बक्सिङ संघ’को स्थापना भयो ।
र, यो पनि ...
फर्केर हेर्दा – बक्सिङको त्यो ‘क्रेज’