एजेन्सी । विश्व नम्बर तीन स्पेनिस टेनिस खेलाडी राफायल नाडालले जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्नो सहभागिता अनिश्चित रहेको बताएका छन् ।
कोरोना भाईरसको महामारीको कारण नाडालले आफ्नो सहभागिता अन्योलमा रहेको बताएका छन् ।
'विश्व सामान्य हुन्थो भने ओलम्पिक गुमाउन चाहन्न थिए,' ३४ वर्षीय नाडालले भने, 'यो परिस्थितिमा मलाई थाहा छैन ।'
२० पटकको ग्राण्डस्लाम विजेता नाडालले दुई पटक ओलम्पिकमा स्वर्ण जितेका छन् ।
नाडालले २००८ को ओलम्पिकमा एकलतर्फ स्वर्ण जितेका थिए । यस्तै सन् २०१६ मा डबल्समा स्वर्ण जितेका थिए ।
कोरोनाको कारण एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुँदैछ ।
ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
कोरोनालाई मध्येनजर गर्दै जापानले उच्च सतर्कता अपनाएर खेलकुदको कुम्भमेलाको आयोजना गर्दैछ ।
टोकियो ओलम्पिकमा सहभागी खेलाडीको दैनिक कोरोना भाईरसको (पीसीआर) परिक्षण हुनेछ ।
टोकियो ओलम्पिक र पाराओलम्पिकमा सहभागी खेलाडी, प्रशिक्षक र प्रतिनिधिमण्डललाई फाइजरले खोप गाईने छ ।
यस्तै सहभागी खेलाडीले अनिवार्य फेस मास्क लगाउनु पर्नेछ । प्रतिस्पर्धा, प्रशिक्षण, खाने, पिउने र सुत्ने समय बाहेक अन्य समय मास्क लगाउनु पर्ने बताईएको छ ।
प्रतियोगिताका लागि आएका खेलाडीले ३ दिन क्वारेन्टिन बस्नु पर्नेछ ।
यस्तै यस पटकको ओलम्पिकमा विदेशी समर्थकलाई प्रवेश निषेध गरिएको छ ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै विदेशी समर्थक अनुमति नदिने निर्णय गरेको हो ।